वैशाख दोस्रो साताबाट ‘नेपाल सुपर लिग’ फुटबल दशरथ रंगशालामा

लेखाजोखा न्युज
१० फाल्गुन २०७७, सोमबार १४:१२

काठमाडौं । आगामी वर्षको वैशाख दोस्रो साताबाट ‘नेपाल सुपर लिग’ फुटबल हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा वैशाख ११ गतेबाट ‘नेपाल सुपर लिग’ फुटबल हुन लागेको हो ।

काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने ‘नेपाल सुपर लिग’ फुटबल वैशाख २५ गतेसम्म करिब दुई साता चल्नेछ ।

नेपालमा पहिलो पटक फ्रेन्चाइज् फुटबल प्रतियोगिता हुन लागेको हो । पहिलो संसकरण आयोजना हुन लागेको यस प्रतियोगितामा नेपाल भरिका विभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि विभिन्‍न सहरहरुको फ्रेन्चाइज टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । फ्रेन्चाइज टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गर्न पाउने छन् ।

टिमको नाम र टिम मालिकको जानकारी यसै महिनाभित्र सार्वजनिक गरिने समेत आयोजकले जानकारी दिएको छ । लिगमा सहभागी हुने टोलिले अक्सनको माध्यमबाट खेलाडी अनुबन्ध गर्नु पर्नेछ ।

यस प्रतियोगिताको आयोजना गर्नुको मुख्य उद्देश्य निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराउनु रहेको आयोजकको भनाइ छ । प्रतियोगितामा १९ खेल हुनेछन् । तर टिमको संख्या बढेको खण्डमा खेल संख्या समेत बढ्न सक्ने जनाएको छ । लिगका खेल राउण्ड रोबिनका आधारमा हुने छन् ।

प्रत्येक टोलीले आफ्नो टिममा विभिन्‍न श्रेणीका २० जना खेलाडी राख्‍न पाउने छन् । खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टयाइने छ ।