सामान्यतर्फ फर्किँदै कोरोनाको उद्‌गम मुलुक चीन, उच्च र मध्यम जोखिम क्षेत्र हटाइए

लेखाजोखा न्युज
१० फाल्गुन २०७७, सोमबार १०:५२

बेइजिङ । चीन कोरोना भाइरसको संक्रमणको अवस्थाबाट सामान्यतर्फ फर्किएको जनाइएको छ । संक्रमितहरु फेला पर्ने क्रम कम भएसँगै सोमबारदेखि सम्पूर्ण मध्यम र उच्च जोखिम भएका क्षेत्रहरु हटाइएका छन् ।

कोरोना संक्रमणको उच्च जोखिम भएका क्षेत्रहरु जाओचेङ जिल्लाको शीजीझुआङ सहर, हुवेइ प्रान्त र मध्यम जोखिम भएका उत्तर पूर्वी हेइलोङजियाङलगायतका क्षेत्रलाई कम जोखिमभएका क्षेत्र घोषणा गरिएको छ ।

चीनमा सोमबार स्थानीयस्तरमा संक्रमण भएका कुनै पनि व्यक्ति फेला परेका छैनन् भने विदेशबाट आएका ११ जनामा कोरोना संक्रमण देखिएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । फेब्रुअरी १८ देखि उच्च जोखिम क्षेत्रहरु हटाएर सामान्य अवस्था फर्किएको चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

पछिल्लो सात दिनमा स्थानीयस्तरमा कोरोना फैलिएको नदेखिएको जनाइएकव छ । शीजीझुआङ सहरमा सोमबारदेखि नियमितरुपमा सार्वजनिक सवारी साधनहरु सामान्य अवस्थाजस्तै सञ्‍चालमा आएकोसमेत जनाइएको छ । त्यसैगरि विभिन्‍न सांस्कृति कार्यक्रमहरु, खेल गतविधिहरु र यसअघि प्रतिबन्ध लगाएका क्षेत्रहरु पनि खुला गरिएका छन् ।