‘न्यु इण्डियन कोभिड-१९’ धेरै संक्रामक हुनसक्ने, पुन: संक्रमणको जोखिम

लेखाजोखा न्युज
९ फाल्गुन २०७७, आईतवार १२:१८

नयाँ दिल्ली । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)का प्रमुख डा. रन्दीप गुलेरियाले भारतमा कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि कुल जनसंख्याको ८० प्रतिशतलाई एन्टिबडीको आवश्यकता रहेको बताएका छन् ।

महाराष्ट्रमा संक्रमणको कोरोनाको नयाँ संक्रमण देखिएपछि एम्सका प्रमुखले यो निकै संक्रामक र खतरानाक हुने बताएका छन् । उनले भने, “नयाँ भेरियन्टले पुन: संक्रमण गराउनसक्छ । एन्टिबडी विकास भइसकेका व्यक्तिहरुलाई पनि फेरि संक्रमणको जोखिम रहेको छ ।”

भारतमा नयाँ भेरियन्टका २४० संक्रमित देखिएका छन् । महाराष्ट्रको कोभिड टास्क फोर्सका सदस्य डा. शशांक जोशीले गत साता महाराष्ट्रमा देखिएका नयाँ भेरियन्ट संक्रमितहरुबाट थप संक्रमण फैलिनसक्ने बताएका छन् ।

महाराष्ट्रबाहेक अन्य चार राज्‍यहरु केराला, मध्ये प्रदेश, छत्तिसगढ र पञ्‍जाबमा पनि नयाँ भेरियन्टको कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

अहिलेको खोपभन्दा कोरोना संक्रमणले स्वरुप परिवर्तन गरिसकेका कारण प्रभावकारी हुन नसकेको एम्सका प्रमुख गुलेरेयाले बताएका छन् ।

भारत सरकारले पहिलो चरणमा तीन करोड नागरिकलाई कोरोना खोप लगाउने योजना सार्वजनिक गरेको छ । हाल भारतले विभिन्‍न मुलुकलाई सिरम इन्स्टिच्युटमा उत्पादिक कोभिशिल्ड खोप सहयोग गरिरहेको छ । – एनडीटीभी