काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि भएपछि नेपालबाट भारततर्फ पेट्रोल तस्करी भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य सस्तो भएपछि सीमा नजिकैका छिमेकी जिल्लाहरुबाट पेट्रोल तस्करी भइरहेको छ ।
भारतीयहरुले नेपालबाट सस्तोमा पेट्रोल किन्ने र भारतमा लगेर बिक्री गर्ने गरेको पाइएको हो । टाइम्स अफ इण्डियाका अनुसार बिहारको अरारिया र किसानगञ्जबाट नेपाल आएर पेट्रोल तस्करी गर्ने गरेको पाइएको हो ।
यसरी तस्करी गर्ने कयौंले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएकोसमेत जनाइएको छ । भारतको बिहारमा पेट्रोलको मूल्य ९३.५० भारतीय रुपैयाँ पुगेको छ । तर, नेपालमा भने ७०.६२ भारतीय रुपैयाँमा पाइने गरेको छ ।
यसअघि नेपाल प्रहरीले ट्यांकमा डिजेल भारततर्फ लैजाँदै गरेका तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
यद्पि नेपालमा पनि इन्धनको मूल्य वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका छन् ।