एनएनआईपीए स्पोर्ट्स अवार्ड : गौरिका र मण्देकाजी सर्वोत्कृष्ट

लेखाजोखा न्युज
८ फाल्गुन २०७७, शनिबार १९:२४

काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मण्देकाजी श्रेष्ठ एनएनआईपीए स्पोर्ट्स अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्रदान गरेको अवार्डमा गौरीका र मण्देकाजी ग्लोबल आईएमई बेस्ट प्लेयर अवार्डबाट सम्मानित भएका हुन् । वेस्ट अवार्डबाट सम्मानित भएकाद्धय गौरिका र मण्देकाजीले समान एक–एक लाख रुपैँया प्राप्त गरे ।

यसैगरी, गल्फका सुवास तामाङ र महिला तर्फ कुस्तीकी संगिता धामीलाई उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् ।

प्रतिभावान खेलाडीको अवार्ड भने तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठले हात पारे । शनिबार आयोजना भएको एनएनआईपीए अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन् । खेलाडीहरुलाई २०७६ सालमा गरेको प्रदर्शनका आधारमा सम्मानित भएका हुन् । उनीहरुलाई सम्बन्धित खेल संघहरुको सिफारिसमा सम्मानित गरिएको हो ।

सम्मानित हुने अन्य खेलाडीमा आर्चरीका सनातन मल्ल, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका रत्नजीत तामाङ, बास्केटबलकी अनुसा मल्ल, बक्सिङकी मिनु गुरुङ, क्रिकेटकी अन्जली चन्द, साईक्लिङका बुद्धिबहादुर तामाङ, फेन्सिङकी रविना थापा सम्मानित भए ।

त्यस्तै ह्याण्डबलकी कल्पना वली, जुडोकी देविका खड्का, कबड्डीकी मेनुका कुमारी राजवंशी, खोखोका श्याम बुढाथोकी, लनटेनिसका प्रदीप खड्का, सुटिङकी कल्पना परिया, टेबलटेनिसका पुरुषोत्तम बज्राचार्य, स्क्वासका विपन ब्लोन, ट्राइथलनकी सोनी गुरुङ, भलिबलका कुलबहादुर थापा, भारोत्तोलनका विकास थापा, उसुकी जुनी राई र पारा टेबलटेनिसका केशब थापा सम्मानित भएका हुन् । कराते प्रशिक्षक अकबर साह भने गजराज जोशी आदर्श अवार्डबाट सम्मानित भएका थिए ।