सुर्खेत । शिव शिखर एग्रो कम्पनीले राजश्व छलेर सुर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । शीव शिखर एग्रो कम्पनीले उत्पादन गरेको ‘वेलकम’ सुर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।
‘वेलकम’ सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्यागसमेत छैन । जसले पनि सहजै अनुमान गर्न सकिन्छ, ‘उक्त कम्पनीले बजारमा ल्याएको ‘वेलकम’ सूर्ति राजश्व छलेर बजारमा आएको छ ।’ सोही कम्पनीले उत्पादन गरेको अर्को सुर्ति ‘लिप्स’ले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता ‘लिप्स’मा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।
दुर्गम पहाडी जिल्लाका उपभोक्तालाई लक्षित गरी उक्त सुर्ति उत्पादन भइरहेको स्रोतले जनाएको छ । “दुर्गमका मान्छेले केही नहेरेर प्रयोग गर्छन,” स्रोतले भन्यो, “दुर्गममा पठाएर उक्त कम्पनीले करोडौं राजश्व छली गर्दै आएको छ ।” करिब आठ वर्षदेखि यस कम्पनीले सुर्तिजन्य पदार्थ उत्पादन गर्दै आएको छ । कर छलि गरेर करोडौं कालो पैसा कमाउने गरेको स्रोतको दाबी छ ।
कोभिड-१९ (कोरोना भाइरस) न्यूनीकरण गर्न नेपाल सरकार, स्थानीय प्रशासनले लगाएको बन्दाबन्दी (लकडाउन) को समयमा केही बोरा सर्ति बजारमा पुर्याएको कम्पनीको एक कर्मचारीले स्वीकार गरेका छन् । उनले आफ्नो नाम भने खुलाउन चाहेनन् ।
“लकडाउनमा माल त पुर्यायउनु पर्योस,” कम्पनी स्रोतले नाम नराख्ने शर्तमा भन्यो, “त्यतिबेला १०/२० बोरा सुर्ति बजारमा पठाएका थियौं ।” राजश्व छलेर बजारमा आएपछि उक्त कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो ।
अहिले सोही विषयमा तारेख बोकी रहेको कम्पनी स्रोतले जनाएको छ । “अरु कम्पनीले पनि त्यसरी नै सामान बजारसम्म पुर्याउँछन,” स्रोतले भन्यो, “नदीमा नपसेर नदीको गहिराइ थाहा हुँदैन ।”
कम्पनी स्रोतले पछिल्लो समय राजश्न तिरेको बताए पनि बजारमा उपलब्ध सामानमा ट्याग देखिँदैनन् । “कम्पनीले राजश्व छल्ने नियत प्रष्ट छ,” एक स्थानीयले भने, “राजश्व छल्ने कम्पनीलाई सरकारले कानुनी दायरामा ल्याउनै पर्छ ।”