फर्म धरौटी राखेर सहुलियत ऋण दिँदै कर्णाली

लेखाजोखा न्युज
६ फाल्गुन २०७७, बिहीबार १८:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारले अनुदान कृषि तथा पशुपालन क्षेत्रमा अनुदान दिँदा दुरुपयोग भएको बताउँदै अबदेखि वास्तविक किसानलाई फर्म वा योजना धरौटी राखेर ऋण दिने योजना बनाएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा बाख्रापालनका नाममा अनुदान लिने र उक्त अनुदान लिने व्यक्तिले दुरुपयोग गर्ने प्रवृति बढेको बताउँदै कृषि पेशामा लाग्‍न चाहने युवालाई बिना धितो उसको योजना राखेर ऋण दिने गरी सरकार अघि बढिरहेको बताएका छन् ।

“रैथाने बाली संरक्षण होस् या पशुपालन व्यवसाय गर्नका लागि होस् अथवा अर्गानिक उत्पादन गर्नका लागि होस्, सानो लगानीमा कृषि खेति गर्ने युवाका लागि हामीले कृषि गर्न चाहने युवाको फर्म या उसको कागजात धरौटी राखेर ऋण दिने कानुन प्रदेश सभामा पेश गरेका छौं,” भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रांगारिक खेति प्रबर्द्धन तथा रैथाने बाली संरक्षण दिवसलाई सम्वोधन गर्दै उनले भने ।

“विना धितो काम गर्न चाहेको खण्डमा आवश्यक लगानी दिने र ती युवालाई आवश्यक सहजीकरण गर्ने, उत्पादन भएका सामग्रीको बजारीकरण गर्ने खालको नीति तय गर्छौं र यहि वर्षबाट हामी युवालाई कृषि क्षेत्रमा सहुलियत ऋण दिनेछौं । त्यसबाट कर्णाली प्रदेशलाई अर्गानिक बनाउन हामीलाई सहयोग हुने अपेक्षा छ ।”

मुख्यमन्त्री शाहीले कर्णाली समृद्धिको पहिलो आधार पूर्वाधार र दोश्रो कृषि नै भएको बताउँदै कृषि पेशामा लागेका युवाहरुलाई सहयोग गर्न सरकार तयार भएको बताए । “तपाईंहरु म यो व्यवसाय गर्छु भनेर आउनुस्, हामी लगानी गर्न तयार छौं । अर्गानिक उत्पादन वृद्धि गर्नु भएको खण्डमा हामी त्यसको बजारीकरण, व्यवस्थापन, लगानी गर्न तयार छौं,” उनले भने, “त्यसका लागि तपाईंलाई के मा अनुदान चाहिन्छ, ढुवानीमा, वा अन्यत्र, भन्‍नु । त्यो गर्न हामी तयार छौं ।”

उनले कुनै पनि किसानलाई घाटामा जान नदिने बताउँदै काम गर्न र कृषि उत्पादन बढाउन लागि पर्न युवाहरुलाई आग्रह गरे ।