अस्ट्रेलियामा फेसबुकद्वारा समाचार हेर्न र शेयर गर्न प्रतिबन्ध

लेखाजोखा न्युज
६ फाल्गुन २०७७, बिहीबार ०७:५२

अस्ट्रेलिया । फेसबुकले अस्ट्रेलियामा समाचार हेर्न र शेयर गर्न प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियामा बिहीबार बिहानदेखि फेसबुक फेजमार्फत सम्पूर्ण स्थानीय र विश्वका समाचारहरु न्युज साइटहरु नखुल्‍ने बनाइएको हो ।

विभिन्‍न सरकारी स्वास्थ्य तथा आपतकालीन र अन्य पेजहरुमा पनि प्रतिबन्ध लगाइएको छ ।अस्ट्रेलियन सरकारले आफ्नो विश्‍वसनीयता कायम गर्न नसकेको भन्दै प्रतिबन्ध लगाइ दिने चेतावनी दिएको छ ।

अस्ट्रेलियाभन्दा बाहिर रहेकाहरुले पनि अस्ट्रेलियन समाचारहरु पढ्न र हेर्न पाएका छैनन् ।

अस्ट्रेलिया सरकारले नयाँ कानुनको प्रस्ताव गरेको विरोधमा फेसबुकले यस्तो कदम चालेको हो । अस्ट्रेलिया सरकारले फेसबुकले समाचार सामग्रीका लागि पैसा तिर्नुपर्ने कानुनको प्रस्ताव गरेको छ ।

प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो । त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ ।
सञ्चार मन्त्री पल फ्लेट्चरले एबिसीसँग भनेका छन्, “फेसबुकले यस्तो गर्दा आफ्नो प्रतिष्ठा र मान्यतामा पर्ने असरवारे गम्भीर भएर सोच्नु पर्ने हुन्छ ।”

गुगल तथा फेसबुकसहितले प्रस्तावित कानुन इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गरेका छन् । समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुले बताएका छन् । – बीबीसी