डीआईजी सुवेदीसहितका प्रहरी अधिकृतको फूलमालासहित विदाई

लेखाजोखा न्युज
५ फाल्गुन २०७७, बुधबार १०:५९

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको भन्दै दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई फुलमालासहित विदाई गरेका छन् ।

घटनाको अनुसन्धानका लागि माघ २४ गतेदेखि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीहरुलाई स्थानीयले फूलमालासहित विदाई गरेका हुन् ।

गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ विभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको १३ दिन पछि प्रहरीले हत्यारा पक्राउ गरेको छ । भागरथी स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।