अस्वभाविक मूल्य वृद्धिको मार

रेश्‍मा क्षेत्री
४ फाल्गुन २०७७, मंगलवार ११:०२

आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासको पहिलो शर्त हो, राजनीतिक स्थिरता । वर्तमान परिस्थितिमा यही राजनीतिक अस्थिरताले भनौँ हाम्रो मुलुकमा नेपालमा महँगीले आकास छोएको छ । व्यापारीहरूको मनपरि नियम सम्बन्धित निकायहरूको बेवास्ताको परिणाम देशमा कुनै चाड पर्व वा राजनीतिक अस्थिरता हुनासाथ बजार भाउ उकालो लाग्छ । र, त्यसको प्रत्यक्ष मारमा पर्छन् आम उपभोक्ताहरु पर्छन् ।

अहिले पनि देशको राजनीतिक अवस्था अस्थिर बनेको छ, त्यही मौकामा महँगी फेरि अस्वाभाविक रूपमा उकालो लागेको छ । पछिल्लो समयमा खाद्यान्‍नदेखि निर्माण सामग्रीहरूसम्मको मूल्य चुलिएको छ । हेर्दा सामान्य लागे पनि यो गम्भीर विषय हो । तर, सरकारले भने यसमा कुनै ध्यान दिएको छैन । दुई-तीन महिना अगाडि एक सय ५० रुपैयाँमा पाइने खाने तेल प्रतिलिटर २३० पुगेको छ । हो बेला बखत बजार भाउ घट्ने-बढ्ने हुन्छ तर अस्वभाबिक रुपमा मूल्य वृद्धि हुनु भनेको मनमानी हो । कुनै नियम-कानुन र मापदण्डबिना नै मूल्यवृद्धि गरिएको छ । व्यवसायीले आफूखुसी मूल्य लगाएका छन् । महँगी बढनुको कारण के हो भनेर सोध्दा- जवाफ आउँदैन । स्वतन्त्र बजारमा मूल्य निर्धारण गर्न पाउने अधिकार भए पनि त्यो सुहाउँदो र जायज हुनुपर्छ ।

बजार भाउमा देखिने यो असामान्य मूल्य वृद्धिले ग्राहकहरुका लागि निकै ठूलो समस्या बनेको छ । यस्तो अवस्थामा उपभोक्ताको सजिलोको लागि गर्नुपर्ने दायित्व र भूमिका सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने भए पनि बेवास्ता गरेको देखिन्छ । होइन, भने यसरी व्यवसायीहरुको मनमानी हुने नै थिएन । सम्बन्धित निकायको ध्यान नगएको अवस्थामा सामान्य तवरमा अहिलेको बजार भाउ ओरालो लाग्‍ने कुनै संकेत देखिँदैन ।

एकातिर बर्षौंदेखिको बेरोजगारी पीडा नेपालमा जस्ताको त्यस्तै छ । अर्को तिर महँगीले थप चुनौती थपिदिएको छ । यो कस्तो विडम्बना सर्वसाधारण नागरिकलाई मुलुकमा भएका राजनितीज्ञहरु आफ्नै लागि खेल खेलिरहने ? वास्तवमा मुलुक विकासको खाका कोर्ने र त्यसलाई व्यवहारमा रुपान्तरण गरि मुलुकलाई समृद्धिमा लैजाने मुख्य जिम्मेवारी राजनीतिज्ञ हो ।

विश्वमा हामी प्राकृतिक र साँस्कृतिक सम्पदामा धनी मुलुक भनेर चिनिन्छौँ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि दीर्घकालीन सोचसहितको राजनीतिक नेतृत्वको अभाव, परिवर्तन भइरहने शासन व्यवस्था, नीतिगत अस्थिरताका कारण हामी विश्वसामु गरिब मुलुकका रूपमा चिनिन बाध्य छौँ ।

पछिल्लो समयमा जसरी बजार भाउ बढेको छ त्यसको मार पनि गरिब, भोकानांगा नागरिकलाई नै परेको छ । त्यहीमध्यकै म पनि एउटा नागरिक हुँ । व्यापारीहरूले जथाभावी भाउ तोक्ने गर्दा बजारमा प्रतिस्पर्धा पनि छैन । जसकाकारण उपभोक्ताहरू छनोटको अधिकारबाट वञ्‍चित छन् । व्यापारीहरुले जति मूल्य तोक्यो, त्यति नै तिर्नुको विकल्पबाहेक अरु छैन । उपभोक्ताको हितको लागि सरकारी निकायहरूले गर्नुपर्ने जिम्मेवारी केही पूरा गरेको देखिँदैन । व्यापारीले मनपरी मूल्य बढाउने अवसर पाएका छन् । मूल्य नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । तर, पनि केही भूमिका देखिँदैन । सामान्य तरिकाले आम नागरिकको ठाउँबाट बसेर हेरिरहँदा सरकारी मिलेमतोकै कारण यसरी मूल्य बढेको महसुस हुन्छ ।

सम्बन्धित निकायले अनुगमन प्रभावकारी बनाउन सक्ने हो भने बजारमा धेरै सुधार आउन सक्छ । अनुगमनको बाहानामा राजस्व संकलन गर्ने तर बजार मूल्य नियन्त्रणमा ध्यान नै गएको देखिँदैन ।

अब यसरिनै चल्ने हो भने आम उपभोक्तालाई निकै कठिन हुनेछ । दैनिक जीवनमा नभइ नहुने उपभोग्य खाद्यवस्तु तथा निर्माण सामग्रीहरुमा असामान्य दरले मूल्य वृद्धि हुँदा जनजीवन कष्टकर मात्र हैन भोक-भोकै मर्नु पर्ने स्थिति सिर्जना नहोला भन्‍न सकिन्‍न । तसर्थ, सम्बन्धित निकायले आफ्नो दायित्वलाई मध्यनजर गरोस् र बजार मूल्यदेखि गुणस्तर सुधारमा ध्यान देओस् । त्यसका लागि साना-ठूला व्यापारी तथा सम्बन्धित उद्योगहरुलाई कानुनी प्रक्रियामा ल्याइ जथाभावी मूल्यवृद्धिलाई रोकेर उपभोक्तालाई सहजीकरण गरिनु पर्छ ।

व्यापारी र राजनीतिज्ञको दोहोरो फन्दामा परि आम उपभोक्ताले मर्का व्यहोरी रहनु हुँदैन । यो सबै सुधारका लागि सम्बन्धित सम्पूर्ण कानुनी निकायहरुले कदम चाल्नु पर्दछ । भन्‍नेबित्तिकै सम्भव नहोला, तर, बेलैमा ध्यान दिनुपर्दछ । अव्यवस्थित मूल्य निर्धारण गर्ने काम ठगी नै हो । यो बेलैमा बन्द गरिनु पर्दछ। मनपरि बजार मूल्य तोक्न पाइँदैन । यदि कुनै पनि चिजको अस्वभाविक मूल्य वृद्धि हुन्छ भने सर्वसाधारणले बुझ्‍ने गरि स्पष्ट कारण खुलाइनु पर्छ । फेरि पनि सुखी नेपाली समृद्ध नेपाल बन्‍नका लागि जथाभावी बजार भाउ रोकियोस् ।