चिसो सिरेटो, न्यानो आभाष

नम्रता भण्डारी
२ फाल्गुन २०७७, आईतवार १८:१८

सेताम्मे हिउँले भरिएको हिमाललाई हेर्न पाउँदा, वर्षौ अघिदेखिको रहर वल्ल पूरा भो
राताम्मे फुलेका लालिगुराँसलाई हातले सुम्सुम्याउन पाउँदा, खोलाको किनारामा मननै सलल्ल भो

चिसो-चिसो हावाले एकनासले छुँदा निक्कै बेरसम्म, समय अवर्णनीय मनमोहक भो
चिरविर चिरविर ध्वनिहरुमा सृष्टिका अनुपम गाथामा, रात अलौकिक सौन्दर्यले भरिपुर्ण भो

हरेक क्षण प्रकृतिको काखमा लुटपुटिँदै, आत्मियता साटासाटको ध्वनि गुञ्जमान भो
तिर्खाएको आँखाहरु प्रत्यक बिहान हिउँ खेल्न पाउँदा, मनमनै वार्तालाप भो

खुसीका पलहरु केस्रा केस्रा बनाएर खोल्न पाउँदा, अन्तरआत्मा नै प्रज्वलिलत भो
अद्भुत् छटाहरुलाई अवलोकन गर्न पाउँदा, कठिन यात्रामा पनि शीतलता भो

बिहान पख टलक्क टल्केको माच्छापुच्छ्रेको लालित्य देख्दा, चिसो सिरेटोमा न्यानो आभाष भो
फुसफुस हिउँ झरेर हामी एकअर्कामा हराउँदा, फेरि पनि मिलनमा आज प्रेम दिवशकै बतास भो