२२ मंसिर २०८०, शुक्रबार

गठबन्धनको बैठक बालुवाटारमा जारी, काे-काे छन् सहभागी ?

लेखाजोखा न्यूज

१८ असोज २०७९, मंगलबार ५:५५

काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ । प्रतिनिधि सभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रूप पाउने कार्यदलका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

सिट बाँडफाँटका बारेमा प्रतिनिधि सभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उनले बताए । आजको शीर्ष नेतृत्वले प्रतिनिधि सभा र प्रदेश सभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ । यस सम्बन्धमा छलफल गर्न हिजाे साेमवार पनि रातिसम्म पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो ।

बैठकलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ गते आइतवार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेद्वारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend