सामाजिक सञ्‍जाल प्लेटफर्महरुलाई भारतको चेतावनी

लेखाजोखा न्युज
२९ माघ २०७७, बिहीबार २०:२१

नयाँ दिल्ली । भारतका प्रविधि मन्त्री रविशंकर प्रसाले अमेरिकी सामाजिक सञ्‍जाल प्लेटफर्महरुलाई मुलुकको कानुनभित्र रहेर काम गर्न चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासन र ट्विटरबीच कन्टेन्ट नियमनका विषयमा बुधबार विवाद भएपछि बिहीबार प्रविधिमन्त्री रविशंकरले भारतको कानुनको पालना गर्न चेतावनी दिएका हुन् ।

संसद्‌मा बोल्दै उनले बिहीबार भने, “ट्विटर, फेसबुक, लिंक्डइन र ह्वाटस्एपलाई भारतमा आफ्नो कार्यसञ्‍चालनका लागि स्वागत छ । तर, उनीहरुले भारतको नियमको पालना गर्नैपर्छ ।”

“तपाईंहरु (सामाजिक सञ्‍जाल प्लेटफर्म) ले भारतको संविधानको अधिनमा रहेर काम गर्नुपर्छ । तपाईंहरु भारतको कानुनले बाँधिनु भएको छ,” उनले भने ।

भारत सरकारले एक हजार एक सय ट्विटर अकाउन्ट र पोस्टहरु हटाउन आग्रह गरेपछि ट्विटरले अस्वीकार गरेको थियो । भारतमा कृषि कानुनको विरोधमा भइरहेको किसान आन्दोलनबारे ती अकाउन्टहरुले गलत सूचना फैलाइरहेको भन्दै बन्द गर्न ट्विटरलाई सरकारले आग्रह गरेको थियो । तर, ट्विटरले भने बन्द गर्न नसकिने जनाएको थियो ।

ट्विटरले भनेको थियो, “ट्विटर निर्देशिका भारतको कानुन अन्तर्गत नभएका कारण पोस्ट भएका कन्टेन्टहरु र अकाउन्टहरु बन्द गर्न सकिँदैन ।” – रोयटर्स