२२ मंसिर २०८०, शुक्रबार

पशुपन्छी स्वस्थ-अस्वस्थ कसरी थाहा पाउने ?

लेखाजोखा न्यूज

१४ असोज २०७९, शुक्रबार ६:५५

काठमाठाैं । बडादसैं नजिकिएसँगै मासुका लागि जिउँदो पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउँछन् ।

अस्वस्थ पशुपंक्षी झोक्राउँछन् । जाडोमा झैँ लत्रक्क परेर बस्छन् । रौँ जिङरिङ परेर लाटो भएर बस्छन् । आँखाबाट आँसु बगिरहेको हुन्छ वा कचेरा निस्केको वा आँखा रातो भएको हुन्छ । पशुको शरीर छाम्दा तातो अर्थात् ज्वरो आएको हुन्छ । खसीबोकाको नाक सुख्खा भएको हुन्छ ।

खसीबोकामा यस्ता समस्या देखिएमा यसलाई सामान्य रूपमा लिनु हुँदैन । राँगो भैंसी,खसीबोका आदिमा पीपीआर रोग लाग्नु भनेको पशुहरुमा हैजा लाग्नु जस्तै हो । बाख्रामा खोरेत,पीपीआर भएको छ भने नाकबाट सिँगान आउने,आँखाबाट आँसु धेरै आउने र छेर्ने समस्या हुन्छ । कुखुरा,हाँस भए कुक्रुक्क पर्ने,डल्लो परेर बस्ने,भुत्ला ठड्याउने,एकोहोरो पातलो दिसा भएमा बिरामी भनेर चिन्नुपर्छ ।

स्वास्थ्य परीक्षण गरिएका पशु मात्रै खरिद गर्नुपर्छ । यदि खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ भने स्वस्थ,रातो रङ लगाएको भए अस्वस्थ भनेर थाहा पाउनुपर्छ ।

नाकमा चिसो पसिना आइरहेको खसीबोकालाई सामान्य नै मान्नुपर्छ । खसीबोकालाई झट्ट हेर्दा चनाखोपन देखाए नदेखाएको ख्याल गर्नुपर्छ । जस्तै खसीबोकाको अगाडि मान्छे जाँदा चनाखो हुन्छ । आँखा टाठो बनाउँछ,कान ठाडो पार्छ र पुच्छर हल्लाउँछ । यस्तो खसीबोका स्वास्थ हुन्छ ।

मासु काट्दा पनि ध्यान दिनुपर्ने

पोषणविद् प्राडा उमा कोइराला अनुसार मासुका लागि खरिद गरिने पशुमा मात्रै ध्यान दिएर पुग्दैन,खरिद गरिएको पशु काट्ने बेलामा पनि धेरै कुरा विचार पुर्याउनुपर्ने हुन्छ ।

खसीबोका काट्नुभन्दा २४ घण्टा पहिला दानापानी घाँस नदिएर प्रशस्त मात्रामा पानीमात्रै खुवाएर राख्दा पेटमा भएका किटाणु,विकारहरू केही मात्रामा बग्न सक्ने पशु चिकित्सकको सुझाव छ ।

परीक्षण गरिएका पशुमा खासै रोग देखिँदैन । यद्यपि खसीबोका,राँगोभैँसी काट्नेवित्तिकै शरीरमा गिर्खागिर्खी,पानीको फोका बढी देखिएको,पेटभित्र कुहिएको भाग भएको,गाँठागुँठी आदि भेटियो भने त्यो भागलाई हटाउनु उपयुक्त हुन्छ ।

किनकि विकार मिसिएको खण्डमा मासु खाइसकेपछि पेट दुख्ने,बान्ता हुने,वाकवाकी लाग्ने आदि हुन सक्छ ।

मासु तयार गर्दा यी कुरामा ध्यान दिऊँ

–पशुपन्छी काट्दा सफासुग्घर ठाउँमा राखेर काट्नुपर्छ ।

–सम्भव भएसम्म नजिकैको बधस्थलमै काट्नुपर्छ ।

–यदि घरैमा खसीबोका काट्दै हुनुहुन्छ भने खुट्टाले टेकिने ठाउँमा मासु राख्नु हुँदैन ।

–जुन ठाउँमा मासु तयार गर्ने हो,त्यस ठाउँमा दुई तीन पटक साबुनपानीले सफा गरेर काट्नुपर्छ ।

–काटिसकेपछि आन्द्राभुँडी,छाला,टाउको र मासु छुट्टाछुट्टै भाँडामा राख्नुपर्छ ।

–काट्ने बित्तिकै मासु प्लाष्टिकले मोडेर फ्रिजमा राख्दा ४८ घण्टासम्म खान मिल्छ ।

–छिट्टै बिग्रिने आन्द्राभुँडी,टाउको,खुट्टा तत्काल खाँदा उपयुक्त हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend