नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ ।
शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमन झन्डै ३ घण्टा कुराकानी भएको हो ।
एमाले र वि.पी. कांग्रेस संगै निर्वाचनमा जानेबारे व्यापक छलफल भएको वरिष्ठ उपसभापति मल्लले बताए ।
उनले भने, आसन्न निर्वाचनमा दुबै पार्टी संग संगै जनताका बीचमा जाने कुरामा पनि व्यापक छलफल भयो । दुई वटै पक्षले एक आपसमा बसी गृहकार्य गरि चाडै टुंगो लगाउने सहमति पनि भएको छ ।
नेपाली कांग्रेसबाट निष्कासित मल्ल डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस विपीबीच चुनावी तालमेल भएको थियो ।
संघको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका छन् । डडेलधुरामा एमालेबाट पठनसिंह बोहरा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारका आकांक्षी देखिएका छन् ।
यस्तै वर्तमान समसामयिक राजनीति, देशको अर्थतन्त्र, नागरिकता विधेयक, प्रधानन्यायाधीश प्रकारणबारे समेत गहन छलफल भएको मल्लको भनाइ छ ।