१९ असोज २०७९, बुधबार

म्यादीमा माग भन्दा एक लाख १७ हजार बढी आवेदन

लेखाजोखा न्यूज

७ असोज २०७९, शुक्रबार ९:३७

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ एक लाख १५ हजार म्यादी प्रहरीको माग भएकामा दुई लाख ३२ हजार ८८ को आवेदन परेको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुला गरेको थियो ।

प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा सबैभन्दा धेरै मधेस प्रदेशका छन् । देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन खुला गरिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले म्यादी प्रहरीमा भर्ती हुन मागको दोब्बर आवेदन परेको बताए ।

‘निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी आवश्यक थियो । यसका लागि हामीले मुलुकभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन खुला गरेका थियौँ । बिहीबार मध्यरातिसम्म आवेदन दिने अन्तिम समय हो । दुई लाख ३२ हजार ८८ को निवेदन परेको छ,’ उनले भने । प्रहरीका अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै ६६ हजार ८८४ को निवेदन परेको छ ।

प्रहरी प्रवक्ता राईका अनुसार निवेदन दिनेको संख्या उल्लेख्य देखिनुमा प्रहरीप्रतिको आकर्षण र बेरोजगार दुवै हो । उनले भने, ‘म्यादी प्रहरी बन्न इच्छा हुनेहरू उल्लेख्य देखियो । यसबाट केही महत्वपूर्ण तथ्य प्रवाह भएको हामीले देखेका छौँ । पहिलो प्रहरी सेवाप्रतिको आकर्षण हो, दोस्रो बेरोजगारी । म्यादी प्रहरीले पाउने भनेको ४० दिनको तलब मात्रै हो । यसका लागि पनि निवेदन दिने यति धेरै देखिए । यसले मुलुकमा बेरोजगारीको अवस्था कुन हदसम्मको छ भनि इंगित गर्छ ।’

म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने अन्तिम अवधि बिहीबार राति सकिएपछि सबै निवेदनलाई ७७ वटै जिल्ला प्रहरी कार्यालयले एकत्रित गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend