८ असोज २०८०, सोमबार

अव १.६ जिपिए ल्याएपनि जुनसुकै विषय पढ्न पाईने

लेखाजोखा न्यूज

७ असोज २०७९, शुक्रबार ९:३२

काठमाडौं । एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने भएको हो ।

अहिले भर्ना हुन बाँकी रहेका तथा यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)पछि न्यूनतम डी अर्थात् ३५ अंक ल्याएका सबै विद्यार्थीले साइन्सलगायत सबै विषय अध्ययनका लागि प्रवेश परीक्षा दिन सक्छन् । यसबाट धेरै विद्यार्थीले लाभ पाउने अपेक्षा गरिएको छ ।

पाठ्यक्रम विकास परिषद्का महानिर्देशक वैकुण्ठ अर्यालले रुचि र क्षमता भएका विद्यार्थीलाई प्रवेश परीक्षा दिनबाटै रोक्ने यसअघिका निर्णय सच्याएर सबैलाई खुला गरिएको बताए । शिक्षामन्त्रीको अध्यक्षतामा हुने शिक्षा विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा भर्नाको आधार नतोक्ने निर्णय गरेको उनको भनाइ छ । महानिर्देशक अर्यालले भने, ‘अहिले पनि भर्ना हुन बाँकी रहेकाको हकमा यो लागू हुन्छ, यस वर्षदेखिको एसइईमा जिपिए १.६ ल्याएका र ननग्रेडिङमा नपरेका विद्यार्थीले जुनसुकै विषय अध्ययनका लागि पनि माथिल्लो कक्षामा प्रवेश परीक्षा दिन सक्छन् ।

खासगरी साइन्सका विषय अध्ययनका लागि भर्नाका आधार तोकिएका थिए । यसअघि परिषद्ले भौतिक विज्ञान, रसायन, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम ग्रेड पोइन्ट (जिपिए) १.६ प्राप्त गरी कक्षा १० मा पढेका अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था थियो । यी विषयबाहेक अन्य विषय अध्ययन गर्न औसत जिपिए १.६ प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको थियो ।

सरकारले यसअघि भर्नाको आधार तोकेर नेपाली बोर्डको कोर्स अध्ययन गर्न नदिए पनि सयौँ विद्यार्थी भारतको सिबिएसई, ए–लेभल तथा अन्य बोर्डमा साइन्स पढेर नेपाल फर्केका थिए । विदेशी बोर्डका कार्यक्रममा सफल भएका विद्यार्थी नेपालमै उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend