भारतीय कांग्रेसले पनि बनाउँदैछ साइबर सेना, भन्‍यो – घृणा फैलाउने होइन, सत्य बोल्ने सेना हुन्छ

लेखाजोखा न्युज
२६ माघ २०७७, सोमबार १९:३४

नयाँ दिल्ली । भारतीय कांग्रेसले सोसल मिडिया वारियर्स अर्थात साइबर सेना निर्माण गर्ने भएको छ । कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंसल, प्रवक्ता पवन खेडा र कांग्रेसको सोसल मिडिया विभागको प्रमुख रोहन गुप्ताले सोमबार साइबर सेना निर्माणका लागि अभियानको सुरुवात गरेका छन् ।

नेता बंसलले भारतका हरेक सहरमा पाँच लाख साइबार सेना बनाउने लक्ष्य रहेको जानकारी दिए । साइबर सेनाका माध्यमबाट देशमा देखिएका मुद्दाहरु उठाउने, विचार र सिद्धान्तको कुराहरु गरिने उनको भनाइ छ ।

कांग्रेसको सोसल मिडिया विभागका प्रमुख गुप्ताले सरकारबाट लोकतान्त्रिक संस्थाहरुलाई दबाउने, सरकारविरुद्ध उठ्ने आवाजहरु कुल्चिने काम भइरहेका कारण कांग्रेस चुप लागेर बस्न नसक्ने बताए । उनले देशको आवाज बुलन्द गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेका कारण अभियानको सुरुवात गरिएको प्रतिक्रिया दिए ।

यसैबीच कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले भिडियो सन्देश जारी गरेर सोसल मिडिया वारियर्सको समूहसँग जोडिन आग्रह गरेका छन् । उनले सोसल मिडिया वारियर्सको समूह न्यायका लागि लड्ने योद्धाहरुको समूह भएको बताएका छन् । “यो घृणा फैलाउने सेना होइन । यो हिंसाको सेना होइन । यो सत्यको सेना हो । यो एक सेना हो जो भारतीय विचारको रक्षा गर्ने छ,” गान्धीले भनेका छन् ।

कांग्रेसले सामाजिक सञ्जालमा आाफ्नो उपस्थिति मजबुत बनाउन अभियानको सुरुवात गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कांग्रेसले सोसल मिडिया वारियर्स समूहमा जोडिनका लागि टोल फ्रि नम्बर जारी गरेको छ । उक्त समूहमा वाट्सएप, वेवसाइट, ईमेलका माध्यमबाट जोडिन सकिने बताइएको छ ।