२२ मंसिर २०८०, शुक्रबार

रसुवागढी नाकाबाट भित्रिन थाले समानका कन्टेनर

लेखाजोखा न्यूज

२ असोज २०७९, आइतबार १२:१३

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ। केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो। आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन्। गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ। यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ। यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend