१६ जेष्ठ २०८०, मंगलबार

राष्ट्रपतिज्यू ! बालिका बलात्कारपछि हत्या भएको सुन्दा पीडा हुँदैन ?

लेखाजोखा न्यूज

२३ माघ २०७७, शुक्रबार ७:३८

सम्मानीय राष्ट्रपतिज्यू,
बैतडीको दोगडाकेदार वडा नम्बर ७ मा भएको घटनाले आज सम्मानीय राष्ट्रपतिज्यूलाई सम्झने मन लाग्यो । हाम्रो देशमा दिन–प्रतिदिन थुप्रै घटनाहरु भइरहेका छन् । किशोरीमाथि हिंसा भइरहेका छन् । सरकार किन कानमा तेल हालेर सुतेको छ ?
कहिले निर्मला, कहिले सम्झाना, कहिले भागरथी, कहिले अन्य गर्दा–गर्दै नर पिपासुहरुको सिकार हुनुपर्ने, हामीहरुले आखिर कहिलेसम्म असुरक्षित बस्नु पर्ने हो ? नेपाली चेलीहरुले कहिलेसम्म अराजकता सहने ? अनि कहिलेसम्म किशोरीले शोषित र बलात्कारको पीडा सहनुपर्ने हो ?

बलात्कार गरेर हत्या गर्दासम्म पनि मेरो देशमा कानुन छैन । पीडितले न्याय पाउँदैन किन ? बुधबार बिहानै स्कुल जान्छु भनि हिँडेकी बहिनी बेलुकासम्म पनि फर्किनन्, घरमा आमा मात्र थिइन् । दाइ विदेशमा थिए अनि बुवा बितेको दुई महिना पनि भएको थिएन । परिवार शोकमा थियो, आमाको लागि साहारा भागरथी बहिनीमात्र थिइन् ।

त्यो दिन बेलुकीसम्म पनि घर आइनन् भारथी, आमा बाटो कुरिरहेकी थिइन् । आमाले पो समयलाई पर्खेको तर समयका पर्खिन्थ्यो, समय बित्दै गयो । रात पनि सकिएर उज्यालो भयो । तर, छोरीको भन्ने अत्तोपत्तो छैन । बाबुले पनि छोडेर गएको आमाको लागि साहारा भनेकै त्यही छोरी, जो आमालाई पर्खाएर आफू भन्ने फर्किनन् ।

केही बन्न, केही सिक्न, केही गर्न र भविस्य बनाउन विद्यालय गएकी छोरीहरुको यस्तो हालत हुन्छ भने भोलिका दिनमा आमाबाबुले छोरीहरुलाई स्कुल पठाउादैनन् । हामी छोरीहरुको के हाल होला ।

सम्मानीय राष्ट्रपतिज्यू, हजुर राष्ट्रपति जस्तो गरिमामय पदमा हुनुहुन्छ । यस्ता बालिकाहरुको बलात्कारपछि हत्या भएको खबर सुन्दा हजुरको  कति पनि पीडा हुँदैन कि ? पीडा हुन्छ भने किन न्याय दिन पहल गर्नुहुन्‍न ? किन यस्ता केसहरुलाई लिएर लड्नु हुन ?

जिन्दावाद र मुर्दावादको राजनीतिलाई छोडेर महिला र बालबालिकाका लागि किन वकालत गर्न सक्नुहुन्न ? हजुरलाई राष्ट्रपति बनाउन लाखौं करोडौं महिलाहरुको साथ सहयोग थियो । त्यो सहयोगलाई यति चाँडै कसरी बिर्सनु भो राष्ट्रपतिज्यू… ।

सम्मानीय राष्ट्रपतिज्यू हजुरलाई मेरो बिन्ती छ, निर्मला, सम्झाना र भागरथी जस्ता कयौं केसहरुमा वकालत गर्नुस् । पीडितलाई न्याय दिलाउनुस् । अपराधीलाई कडाभन्दा कडा कारबाही गर्नुस् । बलात्कारीलाई फाँसी दिनुस् । साँच्चिकै हजुर महान राष्ट्रपति बन्नु हुनेछ ।

पशुपति जोशी (पूजा)
दशरथ चन्द नगरपालिका–ग्वाल्लेक, बैतडी ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend