६ चैत्र २०८०, मंगलबार

वातावरण जोगाउनु सरकारको महत्त्वपूर्ण एजेन्डा हो : प्रधानमन्त्री देउवा

लेखाजोखा न्यूज

२१ जेष्ठ २०७९, शनिबार ९:०६

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको बताएका छन् ।

शनिबार बिहान थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् ।

तापमान वृद्धिको असर नेपालले पनि भोगिरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । ‘वातावरण दिवसको पूर्वसन्ध्या पारेर गरिएको यस आयोजनाले वातावरणको महत्त्व र सचेतना जगाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।

मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिले सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण समस्या भोग्न थालिसकेका छौँ ।

बेमौसमी वर्षा, पहिरो र हिमालहरू पग्लिने समस्याहरूले हाम्रा हिमशृंखलाहरू नांगिदै गएका छन् भने नदी प्रणालीमा पनि असर परिरहेको छ,’ उनले भने ।

त्यस्तै नागरिक स्तरमा वातावरणको महत्त्व बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए । ‘मौसम परिवर्तनले हाम्रै जीवनकालमा गम्भीर असरहरू उत्पन्न गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाएको छ । यस्ता सचेतनामूलक कार्यक्रमले नागरिक स्तरमा वातावरणको महत्त्व बुझाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । जीवन नै मानिसको अमूल्य सम्पत्ति हो । त्यसैले यस्ता शारीरिक व्यायामहरू पनि आवश्यक छ,’ उनले भने ।

कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको हो ।
‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डा हल्लाएसँगै म्याराथन सुरु भएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend