६ चैत्र २०८०, मंगलबार

फोटो खिच्दा ख्याल गर्न माओवादी नेतालाई प्रचण्डको सुझाव

लेखाजोखा न्यूज

१५ साउन २०८०, सोमबार ११:५८

काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका शीर्ष नेताहरूको नाम मुछिएपछि अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चासो व्यक्त गरेका छन्।

सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाब दिएका छन् ।

केही समयअघि मात्र भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको सुन तस्करहरूसँग सम्पर्क देखिएको थियो । त्यस्तै, हाल चर्चामा रहेको करिब १ सय किलो सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनको परिवारको नाम जोडिएको छ ।

यस प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग नेता पुन र उनकी पत्नी ओनसरी घर्ती तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले खिचाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। फोटोसँगै यस प्रकरणमा उनीहरूको संलग्नता भएको आशङ्का गरिएको छ ।

यसैबीच आज बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेतालाई अन्य व्यक्तिसंग भेटघाट र फोटो खिच्दा ध्यान दिन सुझाएका हुन।

‘विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘अहिले त्यही तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’ ती नेताका अनुसार प्रधानमन्त्रीले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend